भोजपुर गोल्डकप चैत १० देखि

बुधबार, चैत ८, २०७९

टक्सार– भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत १० गतेदेखि सदरमुकामको स्थानीय टुँडिखेलमा छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको आयोजना हुने भएको छ ।

करिब ३३ लाख रुपैयाँको लागतमा सञ्चालन हुने प्रतियोगिताका लागि नगरपालिकाले रु २५ लाख सहयोग गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले बताए ।

नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि बजेटको व्यवस्थापन गरिदिन थालेको छ । नगरपालिकाले प्रत्येक वर्ष फुटबल प्रतियोगिताका लागि वार्षिक कार्यक्रममा नै बजेट विनियोजन गर्ने गरेको छ ।

‘जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, सानो रकमले भोजपुर जस्तो दुर्गम ठाउँमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिँदैन’, अध्यक्ष सुवालले भने । जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको तयारीसमेत पूरा भएको छ ।

गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सुवालले प्रतियोगिता सञ्चालनका लागि रु ३२ लाख ८० हजार लाग्ने बताए । प्रतियोगिताको सहप्रायोजकमा शिवम फुटवेयर्स प्रालि, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि र सिजी बु्रअरी रहेको प्रतियोगिताका संयोजक आङपासाङ शेर्पाले जानकारी दिए ।

गोल्डकपको तयारीका विषयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभित्रका छ र बाहिरका दुई टिमको सहभागिता हुने जानकारी दिइयो ।

प्रतियोगितामा युकेएफसी भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी हुनेछन् । 

भोजपुर नगरपालिका–७ मा बन्दै गरेको रङ्गशालाको निर्माण कार्य पूरा नभएकाले यस वर्षको प्रतियोगिता पनि टुँडिखेलमा नै सञ्चालन हुन लागेको आयोजकले जानकारी गराएको छ । 

प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछ भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।  

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्