यस वर्ष आँपको उत्पादन बढ्ने

बुधबार, चैत ८, २०७९

बाँके –बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जनाएको छ । बर्सेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नाका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ ।

एकाध आँप भएका बारी होस् वा आखन खाँपको बगैँचा नै यतिबेला सबैतिर आँपका रूखमा फूल झमक्क फुलेका छन् । बाँकेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपका रूख लगाइएका छन् । व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका फूल फुलेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताए। उनका अनुसार यस वर्ष आँपको उत्पादन बढ्न सक्ने विश्वास छ । उनले भने, ‘आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष सबैतिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।’

बाँकेमा चैत, वैशाख तथा जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पु¥याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दा लगायतका अन्य आँपका रुख पनि लगाइएको छ । बाँकेभर करिब तीन सय हेक्टर जमिनमा आँप लगाइएको अनुमान केन्द्रको छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । जिल्लाको सीतापुर, भवानियापुर, डुडुवा लगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ । 


 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार