अफगानिस्तान भूकम्प : मृतकको सङख्या १२ पुग्यो

बुधबार, चैत ८, २०७९

काठमाडौं –अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति गएको ६.५ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङख्या १२ पुगेको छ ।

अहिलेसम्म अफगानिस्तानमा तीन र पाकिस्तानमा ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानका जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले २ जनाको ज्यान गएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् । 

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महशुस गरिएको थियो । 

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा ९ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषको घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

अफगानिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको अस्पताल प्रशासनले बताएको छ । उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

गत वर्ष जुनमा अफगानिस्तानको पंक्तिका प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा १  हजार बढि मानिसको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्