नेभिगेशन
सुरक्षा–अपराध

क्षमताभन्दा बढी सामान बोक्ने विमान चालकसहित सात जना निलम्बित 

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमको ट्वीनअटर विमानका चालक दलसहित सात जनालाई निलम्बन गरेको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सोमबार ताप्लेजुङबाट काठमाडौँ उडान भरेको निगमको नाइन–एन–एबीटी विमानमा लोड सिटमा भन्दा एक सय पाँच केजी बढी सामान बोकेको पाइएपछि उनीहरूलाई काम गर्न रोक लगाइएको छ । उक्त विमानले क्षमताभन्दा बढी सामान बोकेको र पुरुष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पनि पाइएकाले कारबाही गरिएको प्रवक्ता निरौलाले बताए ।

विमानले क्षमताभन्दा बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएपछि उडान अनुशासन पालना नगरेकाले विमानका चालकदलसहित ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गरेको हो । घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ । -रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ