कांग्रेस अब पाँचै वर्ष सरकारमा रहन्छ : नेता पौडेल

मंगलबार, चैत ७, २०७९

चितवन–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले नयाँ शैलीमा काम गर्नेगरि नेपाली कांग्रेस सरकारमा जान लागेको बताएका छन् ।

नेपाल ट्रेड युनियनले चितवनमा मंगलबार गरेको कार्यक्रममा बोल्दै पौडेलले सरकारमा जाँदै गर्दा अब नयाँ शैलीमा काम हुने बताए ।

जनताका काम गर्दै सकारात्मक सन्देश दिने गरी नै कांग्रेस सरकारमा जान लागेको उनको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीबाट सरकारमा क–कसलाई पठाउने भन्नेबारे गृहकार्य थालेका उनको भनाइ छ ।

पौडेलले सरकारमा जान लागेको कांग्रेसले विगतका गल्ती नदोहो¥याइ काम गर्ने उल्लेख गर्दै स्थानीय, प्रदेश र केन्द्र सरकारमा हुने कांग्रेसले जनतालाई नयाँ आभाष दिलाउन सक्नुपर्ने बताए । 

पौडेलले अहिलेको गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति नयाँ ढंगको हुनुपर्ने बताए ।

‘गठबन्धनको सरकारमा कांग्रेसको उपस्थिति अन्य दलभन्दा भिन्न हुनु आवश्यक छ । विगतभन्दा सुधारिएको हुनु आवश्यक छ । कांग्रेस अब पाँचै वर्ष सरकारमा हुनसक्छ, तर सरकारमा भइरहने कुराले महत्व राख्दैन,’ उनले भने, ‘पाँच वर्षपछि फेरि निर्वाचन हुन्छ । त्यो निर्वाचनमा जनताको मत जित्ने गरी काम गर्न सक्नुपर्छ । कांग्रेसले विगतका गल्ती सच्याएर अघि बढ्नु आवश्यक छ ।’

उनले अहिले गठबन्धन गरेर चुनाव लडेको र गठबन्धनकै बलमा सरकारमा पुगेको स्मरण गराउँदै पाँच वर्षपछि कांग्रेसले एक्लै निर्वाचनमा जानुपर्ने परिस्थितिको लागि अहिलेदेखि नै तयार रहनुपर्ने बताए । उनले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्दा स्थानीय माटोले चिनेको, माया र विश्वास पाएको नेतृत्वलाई अघि सार्नुपर्ने बताए ।


 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार