प्रधानमन्त्री दाहालले राष्ट्रविरोधी काम गरिरहेका छन् : नेता गजुरेल 

सोमबार, चैत ६, २०७९

काठमाडौँ– मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाएका छन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री दाहालले लगातार जनबिरोधी र राष्ट्रबिरोधी कामहरु गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरुलाई उजागर गर्न जरुरी रहेको नेता गजुरेलको भनाइ छ ।

उनले विश्वकप लिग–२ क्रिकेटको अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रुपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीबिरुद्ध नाबाजी लागेपनि दाहाललाई लाज नलागेको बताए । देशमा यसअघि अत्याचार, शोषण, महंगी र बेराजगारी यति धेरै नरहेको भन्दै नेता गजुरेलले गणतन्त्र स्थापनापछिको समाजवादउन्मुख व्यवस्थाले झनै विसंगति पैदा गरेको उनको धारणा छ ।

‘दुःखका साथ भन्नुपर्छ । बिडम्वना नै भन्नुपर्छ कि प्रचण्ड र बाबुरामहरुले जे गरे त्यो प्रतिक्रान्ती थियो । उनीहरुले आत्समर्पण गरे । वर्गीय र दुश्मनको बिरुद्धको आत्मसमर्पण उनीहरुले गरिसकेपछि क्रान्तीले धक्का खायो । अहिले दुश्मनहरुले यति हेपेको छ कि क्रान्तीकारी शक्तिलाई यहाँ अदालतका दुई जना न्यायाधीशहरुले फैसला गरे । उनीहरुले अब जनयुद्धमा भएका घटनाहरुमा न्याय दिनका लागि पहिला सत्य निरुपण तथा मेलमिलापमा लगेर मुद्दाहरुको समाधान गर्ने भन्ने थियो, अब त्यो हुँदैन,’ नेता गजुरेलले भने ।

सत्तामा रहेको माओवादी र बिद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको गजुरेलले बताए । माओवादीहरु डराएर एकजुट भए भन्नेकुरा गलत रहेको उनको भनाइ छ । अहिले पनि माओवादीहरु एक ठाउँमा नरहेको भन्दै नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको आरोप लगाए ।

१६ वर्षसम्म त्यो प्रक्रियाबाट न्याय दिन नसकेपछि अब जनयुद्धका मुद्दाहरु अदालतले फैसला गर्ने योजनाअनुसार अघि बढिरहेको भन्दै उनले माओवादीहरुको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरु अहिले दुरावस्थाबाट गुज्रिनु परेको धारणा राखे ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार