तिलोत्तमा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

आइतबार, चैत ५, २०७९

लुम्बिनी– बुटवलमा सञ्चालिन तिलोत्तमा गोल्डकपको २२औँ संस्करणअन्तर्गत आजको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारको जितका लागि जर्सी नं १८ का दीपेश गुरुङले दोस्रो हाफको ३८औँ मिनेटमा गरेको उत्कृष्ट गोल निर्णायक बन्यो । बुटवलस्थित देवीनगर एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत खेलको पहिलो हाफमा दुवै टोलीबाट गोलरहित बराबरी रहेको थियो । 

खेल अवधिभर थ्री स्टार हिमालयन शेर्पामाथि हाबी बभएको थियो । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बू ‘म्यान अफ दी म्याच’ घोषित भए । आजको जितसँगै थ्री स्टारले शनिबारको विजेता सुदूरपश्चिम–११ सँग सेमिफाइनलको भेट पक्का गरेको छ । सुदूरपश्चिमले रुपन्देही–११ लाई शनिबार ३–१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

सोमबारको खेल विभागीय टोली नेपाल सशस्त्र प्रहरी (एपिएफ) र फ्रेन्ड्स क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । 

दुई विभागीयसहित आठ टोली सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्