मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजनाको निर्माण तीव्र

शुक्रबार, चैत ३, २०७९

लमजुङ –मनाङस्थित मस्र्याङ्दी नदीमा १३५ मेगावाटको मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ । कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको जलविद्युत आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो ।

मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन । आगामी ४ वर्षमा निर्माण सम्पन्न गर्नेगरी १ नेपाली र ३ चिनियाँ कम्पनीले साझेदारीमा जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन् ।

आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्यूवाईसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन् । आयोजनामा नेपाली साझेदार बीपीसीको २० प्रतिशत र ३ चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ । कुल लागत ३३ अर्ब ३८ करोड रुपैयाँमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहेको आयोजनाले जनाएको छ । 

रन अफ द रिभर प्रकृतिमा बन्न लागेको आयोजनाबाट वार्षिक ७६६ दशमलव ५९३ गिगावाट विद्युत शक्ति उत्पादन हुने जनाइएको छ । आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

सम्भाव्यता अध्ययनअनुसार आयोजनाको ग्रस हेड ४३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव ०७५ किमि रहेको छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्