उपराष्ट्रपतिको निर्वाचन : मतदान सुरु

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । 

सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा एमालेबाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएका थिए भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन् । 

मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्