Nic Ad Nic Ad
Nic Ad Nic Ad

उत्तरगंगाबाट इरानी कम्पनी बाहिरियो, डिपिआरको ढिलाइले डेढ वर्ष पछि धकेलियो 

तीन वर्षपछि निर्माण थालिने, सर्वसाधारणले सेयर हाल्न पाउने
शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– प्रस्तावित ८२८ मेगावाट क्षमताको उत्तरगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाबाट इरानी कम्पनी बाहिरिएको छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन छानिएको इरानी कम्पनी महाव घोड्स इन एसोसिएनले काम नगरेपछि आयोजनाले कम्पनीसँगको सम्झौता रद्ध गरेको हो ।

इरानी कम्पनी बाहिरिएसँगै डिपिआर निर्माणको काममा ढिलाई हुने देखिएको छ । इरानी कम्पनीको राम्रो ‘पर्फमेन्स’ नभएपछि आयोजना पक्षले यसअघि नै सम्झौता तोडिसकेको छ । र, नयाँ परामर्शदाता छनोट गर्ने गरी योजना बनाइएको आयोजना प्रमुख अम्बिकेशकुमार झाले सिएन नेपाललाई जानकारी दिए ।

योसँगै उत्तरगंगा अर्धजलाशययुक्त जलविद्युत् आयोजना डेढ वर्ष पछि धकेलिएको छ । किनकि, इरानी कम्पनीसँगको सम्झौता तोडिएसँगै नयाँ परामर्शदाता छनोट गर्न कम्तीमा डेढ वर्ष लाग्ने उनले बताए ।  तर, इरानी कम्पनीले नै काम गरेको भए दुई वर्षभित्र डिपिआर बनिसक्थ्यो  । 

त्यसपछि डिपिआर निर्माणका लागि २ वर्ष गरेर कुल साढे ३ वर्ष लाग्ने उनले बताए । ‘करिब दुई वर्ष डिपीआर निर्माणका लागि लाग्छ, त्यसअघि परामर्शदाता छनोट गर्न एक÷डेढ वर्ष लाग्ला । साढे तीन वर्ष डिपिआरमै लाग्ने भयो,’ उनले भने, ‘त्यसपछि, निर्माण गर्न पाँचदेखि सात वर्ष गरेर मोटामोटी साढे आठ÷नौ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।’

आयोजनाले सम्झौता तोडेको परामर्शदाता इरानी कम्पनीले अहिले भेरी बबई डाइभर्सन आयोजनामा समेत काम गरिरहेको छ । प्रतिकुल अवस्था नआए आगामी साढे तीन वर्षपछि आयोजना निर्माण सुरु हुने उनको भनाइ छ । डिपिआर तयार हुँदासम्म आयोजनाले लगानी मोडोलिटी समेत टुंग्याएर वित्तिय व्यवस्थापन बन्द (फाइनान्सिङ क्लोजर) गर्ने लक्ष्य राखेको छ । आयोजनाको हालसम्म वित्तीय व्यवस्थापन र लगानी सम्झौता भइसकेको छैन ।

यसअघि, ६८ प्रतिशत नेपाल विद्युत् प्राधिकरण र ३२ प्रतिशत जनताको सेयर रहने गरी प्रारम्भिक रूपमा लगानी मोडालिटी बनाइएको थियो । त्यस मोडालिटीमा जाँदा आयोजनाको कुल लागत एक खर्ब ३९ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । डिपिआर तयारीपछि आयोजनाको लागत यकिन हुने झाले बताए । डिपिआर सँगसँगै परियोजनाको मुआब्जा वितरण, एक्सेस रोड र पूर्वतयारी काम सम्पन्न अघि बढ्नेछन् ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र पूर्वसम्भाव्यता अध्ययन (प्रि–भिजिबिलटी) लगायतका काम भइसकेका छन् । यसअघि आयोजना रुकुमतर्फ निर्माण गर्ने भनिएको थियो । तर, अन्तर्राष्ट्रिय कम्पनीले गरेको प्राविधिक अध्ययनले आयोजना बागलुङको ढोरपाटनतर्फ बनाउँदा पानीको बहाब क्षमता ‘हाइड्रोलोजी’ र लागतका हिसावले पनि उपयुक्त देखिएको थियो । 

आयोजना बागलुङको पश्चिम ढोरपाटन र निसिखोला क्षेत्रमै निर्माण गरिनेछ । आयोजनाको पूँजी लगानी सार्वजनिक–निजी–साझेदारी (पिपिपी) मोडलमै जुटाइने छ ।

करिब पाँच किलोमिटर लामो सुरुङमार्ग बनाएर बागलुङको ढोरपाटन हुँदै निसीखोलाको गावामा पानी झारेर बाँध बनाई विद्युत् उत्पादन गरिने प्रारम्भिक अध्ययनले देखाएको छ । जहाँ १३ सय ५५ मिटर माथिबाट पानी झारिने छ । निसीखोलामा दुईवटा विद्युतगृह निर्माण हुनेछन् । 

आयोजनास्थलसम्म पुग्न तीनवटा पहुँचमार्ग बनाइनेछ । देउरालीचोकदेखि बाँधसम्म एउटा, निसीखोलादेखि दुईवटा पावरहाउससम्म पुग्ने एउटा र सुरुङमार्गभित्र पुग्ने गरी अर्को गरी तीनवटा छुट्टा–छुट्टै पहुँचमार्ग बन्ने छन् ।

विसं २०७२ सालमा परियोजना निर्माण गर्न विद्युत् विकास विभागमार्फत अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरिसकेको छ । दुई वर्षका लागि लाइसेन्स पाए पनि विभिन्न कारणले आयोजना लम्बिँदै गएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्