गुल्शन र आरिफलाई मधेस सरकारले जनही दुई लाख पुरस्कार दिने

शुक्रबार, चैत ३, २०७९

धनुषा– मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्शन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । 

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय गुल्शन र आरिफलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । 

दुवैजना मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही रु दुई लाख प्रोत्साहनस्वरुप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए । 

सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । 

जितसँगै नेपालले एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्