काठमाडौँ महानगरको आठ महिनामा राजस्व सङ्कलन ४३ प्रतिशत

बिहीबार, चैत २, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

महानगरपालिकाले चालु आवमा रु १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा चार अर्ब ५६ करोड ६२ लाख रुपैयाँ उठाएको जनाएको छ ।

महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा ५० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् ९० लाख रुपैयाँभन्दा धेरै राजस्व उठाएको छ । महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ । 

महानगरले दुई अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा एक अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा एक अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा ६५ करोड रुपैयाँ उठाएको छ । 

यसैगरी, नक्सापास दस्तुरबाट ४१ करोड रुपैयाँ उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्