कृषि विकास बैंकको आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता

बिहीबार, चैत २, २०७९

काठमाडौं– कृषि विकास बैंकको आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्भावित ऋणी मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्रबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवद्र्धन गर्ने अपेक्षा लिइएको बैंकले जनाएको छ । 

व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले यो नवप्रवर्तन विधिको परीक्षण चरणका लागि नेपाल राष्ट्र बैंक र आईएफसीबीच सम्झौता भएको हो । नेपालको वित्तीय प्रणालीमा यो विधि २ वर्षको अवधिको लागि परीक्षण गर्न लागिएको हो । बिहीबार भएको सम्झौता बमोजिम यस विधि मार्फत लघु तथा खुद्रा कर्जा लिने व्यक्ति तथा लघु, साना र मझौला उद्यमहरूलाई औपचारिक वित्तीय सेवाको दायरामा ल्याउने अपेक्षा गरिएको छ । 

यसले बैंक तथा वित्तीय संस्थालाई सम्भावित ऋणीको व्यक्तित्व र मनोवैज्ञानिक विशेषताको तथ्याङ्कीय विश्लेषणका आधारमा जोखिम प्रोफाइल तयार गर्नसक्षम बनाई औपचारिक वित्तीय सेवामा समाहित हुन सेवाग्राहीलाई ऋण उपभोग गर्न आकर्षित र सरल बनाउने अपेक्षा राखिएको छ । विगतमा वित्तीय सेवाको पहुँच नपुगेका सेवाग्राहीमा वित्तीय सेवा विस्तारमा समेत सहज हुने विश्वास लिइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्