युएईले टस जितेर ब्याटिङ रोज्यो, फिल्डिङ गर्दै नेपाल

बिहीबार, चैत २, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग– २ को केहीबरपछि हुन लागेको खेलमा घरेलु टोली नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले फिल्डिङ गर्ने भएको हो ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ । 

नेपाल आज युएईलाई हराउँदै एकदिवसीय (ओडिआई) विश्वकपकाे अन्तिम छनोटमा पुग्न चाहन्छ । यसर्थ यो खेल नेपालका लागि महत्वपूर्ण छ ।

नेपाल अंक तालिकामा नेपाल चौथो स्थानमा छ । नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । नामिबिया ३६ खेलमा १९ मा जितसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । कुनै कारण आजको खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ । यस्तोमासर्वाधिक जित प्रतिशतको कारण नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ ।

यसर्थ, विश्वकप सपना जीवितै राख्न नेपालले आज युएईलाई हराउनुको बिकल्प छैन ।

यसअघि गत आइतबार युएईलाई नै हराउँदै नेपालले ओडिआई मान्यता जोगाएको थियो ।

लिग– २ मा खेलेका पछिल्ला ११ खेलमध्ये नेपालले १० खेल जितेसिकेको छ । यसर्थ, नेपाली मनोबल उच्च छ । आज पनि युएईलाई हराएर नेपालले विश्वकप आशा जीवितै राख्ने विश्लेषण गरिएका छ । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्