काठमाडौं महानगरद्वारा १७५ जना शिक्षकका लागि ‘मनोबिज्ञान’ र ‘करिअर गाइड म्यापिङ्’ तालिम 

सोमबार, वैशाख १७, २०८१

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ । तालिममा स्रोत शिक्षक, शिक्षामा सिप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल विकास कक्षाका शिक्षकलाई सहभागी गराइएको छ । 

एउटा समूहमा २५ जनालाई सहभागी गराएर ७ वटा समूहमा तालिम सञ्चालन हुनेछ । ४२ घण्टाको यो तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको सिप सिकाइन्छ । बाँकी १२ घण्टा करिअर गाइड म्यापिङ्को कक्षा चल्नेछ । 

da237f76-ca0e-48c1-8541-61a416bad73a-1714387127.jpg

पहिलो समूहको तालिम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्,‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षकहरु वहुआयामिक हुनु पर्छ । शिक्षण विधि कुशल हुनु असल शिक्षकको गुण हो । अब यतिले मात्र पुग्दैन । बालबालिकाले के चाहेका छन्? उनीहरुको क्षमता पहिचान गर्ने र रुचिअनुसारको वाटोमा लाग्ने वातावरण बनाइदिनुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘शिक्षकलाई दिएको तालिमको नतिजा विद्यार्थीहरुको प्रगतिमा मापन गर्नेछौँ । यसकारण तालिम अवधिमा शिक्षक भएर होइन, विद्यार्थी भएर सहभागी हुनुहोला ।’

विद्यार्थीहरुलाई आफ्नो रुचि र आफूभित्रको क्षमता पहिचान गर्न सक्ने बनाएर आफैँले छानेको पेशामा लाग्न सक्ने जनशक्ति उत्पादनमा महानगरको जोड छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने,‘आमाबुबा, दिदीदाजुले जे भन्नुभयो त्यही पढ्ने, आफूसँग मिल्ने साथीले छानेको भएर आफू पनि त्यही विषय पढ्ने वा त्यही सिप सिक्ने  परम्परा छ । यसले व्यक्तिभित्र भएको क्षमता एकातिर हुन्छ । काम अर्कै गर्नुपर्ने अवस्था हुन्छ । पेशागत रुपमा असफल हुने कारण यही हो ।’ 

उनका अनुसार अरुले देखाएको बाटोमाभन्दा आफैँले चिनेर हिँडेको बाटोमा यात्रा सहज हुन्छ भन्ने बुझाउनु पर्नेछ । यो काम शिक्षकबाट सम्भव हुने भएकोले उनलाई छानिएको हो ।    

शान्ति शिक्षा मन्दिर थहितिमा सुरु भएको तालिममा २७ वटा विद्यालयका शिक्षक सहभागी गराइएको छ । तालिम वैशाख २४ गते समापन हुनेछ । वैशाख २५ गतेदेखि जेठ १ गतेसम्मको तालिम, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा हुनेछ । यस तालिममा पनि २७ वटा विद्यालयको सहभागिता रहनेछ ।  

5db0f7cc-0e17-498f-8ff0-ffd6056118a3-1714387108.jpg

जेठ २ गतेदेखिको तालिम पद्मकन्या माध्यमिक विद्यालय, डिल्लीबजारमा हुनेछ । ९ गतेसम्म चल्ने तालिममा ३४ वटा विद्यालयको सहभागिता हुनेछ । जेठ १३ गतेदेखि रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरमा तालिम हुनेछ । त्यसमा १५ वटा विद्यालयको सहभागिता हुनेछ । तालिम जेठ २० गते सकिनेछ ।  

यी तालिम स्थलमध्ये रत्नराज्य माध्यमिक विद्यालयमा एउटा समूह हुनेछ । अन्य सबै विद्यालयमा २÷२ वटा समूहमा तालिम चल्नेछन् । 

विद्यालय निरीक्षक रुक्मिला इटनी के. सी.का अनुसार अहिले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई मानसिक स्वास्थ्यमा सहयोग चाहिएको छ । यो सहयोग विद्यालयबाट नै प्राप्त हुन सकोस् भनेर शिक्षकहरुलाई मनोबैज्ञानिक र मनोसामाजिक परामर्शको सिप सिकाउन लागिएको हो । 

तालिम नेपाल स्किल ल्याब र अन्तरङ्गसँगको सहकार्यमा आयोजना गरिएको हो ।   

शिक्षामा सिप कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका कक्षा ९ र १० मा १० वटा विधामा छोटो अवधिको सिपमूलक तालिम चलिरहेका छन् । बालबालिकाले आफ्नो रुचि र क्षमताअनुसार विषय वा क्षेत्र छान्न सकुन । यसमा शिक्षकको प्रोत्साहनबाट विद्यार्थीले अरुले दिएको सुझाव वा अरुले छानेको क्षेत्र हेरेर नभइ आफैँले रुचाएको क्षेत्र छान्न सक्ने हुनेछन् ।

महानगरपालिकाले पुस्तकविहिन शुक्रबार कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकासदेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ सञ्चालन गरेको छ । यसमा हरेक विद्यार्थीले १५ वटा समूहमध्ये मन पर्ने समूह छान्न सक्नेछन् । 

  


 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्