विश्वकप सपना जीवितै राख्न युएईलाई हराउने लक्ष्यमा नेपाल

बिहीबार, चैत २, २०७९

काठमाडौँ– नेपालले आज युएईविरुद्ध आइसिसी क्रिकेट विश्वकप लिग– २ को महत्वपूर्ण खेल खेल्दैछ ।

यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ । घरेलु टोली नेपाल आज युएईलाई हराउँदै एकदिवसीय (ओडिआई) विश्वकपकाे अन्तिम छनोटमा पुग्न चाहन्छ ।

नेपाल अंक तालिकामा नेपाल चौथो स्थानमा छ । नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । नामिबिया ३६ खेलमा १९ मा जितसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । कुनै कारण आजको खेल नतिजाविहीन हुँदै अंक बाँड्नुपर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ । यस्तोमासर्वाधिक जित प्रतिशतको कारण नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ ।

यसर्थ, विश्वकप सपना जीवितै राख्न नेपालले आज युएईलाई हराउनुको बिकल्प छैन ।

यसअघि गत आइतबार युएईलाई नै हराउँदै नेपालले ओडिआई मान्यता जोगाएको थियो ।

लिग– २ मा खेलेका पछिल्ला ११ खेलमध्ये नेपालले १० खेल जितेसिकेको छ । यसर्थ, नेपाली मनोबल उच्च छ । आज पनि युएईलाई हराएर नेपालले विश्वकप आशा जीवितै राख्ने विश्लेषण गरिएका छ । 


 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्