अन्तर्वार्ता :

अहिले टिम एक भएको छ, सम्हालिएर खेले सुखद् नतिजा आउनेछ : शक्ति गौचन

बिहीबार, चैत २, २०७९

छिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उच्च नतिजा हात पारिरहेको छ । पछिल्लो समय खेलेका ११ खेलमध्ये १० खेल जितेको छ भने एक खेलमा मात्रै हार व्यहोर्नुपरेको छ । नेपालमा नै भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज होस् वा युएईमा भएको युएई र पपुवा न्युगिनी (पिएनजी)सँगको खेल । आज नेपालले आइसिसी क्रिकेट विश्वकप लिग– टूको अन्तिम खेल युएईसँग खेल्दैछ । त्रिभुवनन विश्वविद्यालयको खेल मैदानमा बिहान ९ः३० बजेबाट सुरु हुने खेलमा नेपालले जित हात पार्नैपर्ने दबाब छ । नेपालले युएईलाई आजको खेलमा हराए टेस्ट मान्यता प्राप्त राष्ट्रहरूसँग खेल्न पाउनेछ । 

आजको खेलका बारेमा हामीले राष्ट्रिय टिमका पूर्वखेलाडी शक्ति गौचनसँग कुराकानी गरेका छौँ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गौचनले नेपालले आजको खेलमा धेरै एक्साइटेड हुनुपर्ने अवस्था नरहेको बताए । उनले सम्हालिएको प्रदर्शन र विगतका खेलहरूलाई निरन्तरता दिए आज पनि नेपालले सुखद् नतिजा निकाल्ने बताए । उनले नेपाली टिम यति धेरै सफलताको शिखर चुम्न सक्नुमा प्रशिक्षक र खेलाडीहरूको मेहनतका साथै उनीहरूमा पछिल्लो समय देखिएको एकता नै रहेको बताए । उनले नेपालका खेलाडीहरूमा अनुभव पनि बढ्दै जाँदा नतिजा सोचेअनुसार नै आएको र प्रशिक्षक र कप्तानको योजना सफल बनिरहेको पनि बताए । पूर्वक्रिकेटर गौचनले सुखद् नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा ट्वान्टी–२० विशवकप खेलेपछिकोे सबैभन्दा यादगार क्षण हुने बताए ।

पछिल्ला खेलमा नेपालले निकालेका सफलतालाई कसरी लिनुभएको छ ?

नेपाली टोलीले पछिल्लो समय पाएको सफलता निकै सकारात्मक छ । यसअघि पनि खेल त्यस्तो बिग्रिसकेको भने थिएन । त्यो बीचमा टोलीमा समावेश भएका केही खेलाडीमा अनुभवको कमी थियो । सो अवस्था हामी अनुकुल थिएनौँ । अहिले आएर टोली सम्हालिएको छ । केही उतारचढाव टोलीमा हुन्छन् । तर, अहिले सम्हालिएको छ । आज हुने ३६ औं खेलमा खेलाडीले धेरै अनुभव बटुलिसकेका छन् । सो क्रममा ११ खेल खेल्दा १० खेलमा नतिजा निकाल्न सफल भएको छ । आज नेपालले युएईसँग लिगको अन्तिम खेल खेल्दैछ । जुन खेल निकै अर्थपूर्ण तरिकाले हेरिनेछ । खेल ऐतिहासिक हुनेछ । जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाउनेछ ।

पछिल्लो समय नेपाली टोलीले प्राप्त गरेको सफलताको रहस्य के हुनसक्छ ?

अहिले टोली एक भएको छ । खेल्दा–खेल्दा नयाँ खेलाडीले अनुभव बटुलिसकेका छन् । पछिल्लो १० खेलको नतिजाबाट खेलाडीमा अनुभव मिलेको देखियो । अहिलेको अवस्थामा नेपाली टोली नतिजा अनुकुल भइरहेको छ । अहिले जुन टोलीसँग खेले पनि नतिजा निक्लिन्छ भन्ने लागेको छ । यो अवस्था आउन खेलाडीको अथक मेहनत छ । उनीहरूको कडा मेहनत देखिएको हो । खेलाडीले वर्षौंदेखि गरेको हात पार्न गरेको मेहनत मैदानको खेलबाट देखिएको छ । सबै संयन्त्रबाट सही काम भएको अवस्थामा सफलता मिल्न भन्ने यसबाट सन्देश मिलेको छ ।

यसअघि बलिङ पक्ष राम्रो भनिन्थ्यो तर अहिले अन्तिमसम्म पनि ब्याटिङ लाइन राम्रो देखिएको छ, पर्दापछाडिको रहस्य नयाँ प्रशिक्षक हुन् कि अन्य कुनै कारण पनि छन् ?

यो अवस्थामासम्म आइपुग्दा सबै विषय जोडिएका छन् । खेलाडीको मेहनत हुने नै भयो । अर्को भनेको अन्तर्राष्ट्रिय स्तरमा ब्याटिङको अनुभव हो । कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाउनु नै सुधारका लागि अवसर हो । अहिले टिममा नयाँ जोश छ । नयाँ लक्ष्यका साथ टोली अगाडि बढिरहेको छ । टिमको एक मात्र लक्ष्य भनेको विश्वकप छनोटमा स्थान बनाउने रहेको छ । सँगै जोडिनुभएका प्रशिक्षक मोन्टी देशाई हुनुहुन्छ । उहाँसँग मैले ४-५ वटा भ्रमण गरेको छु । उहाँ ब्याटिङ प्रशिक्षक र कन्सल्टेन्टको रूपमा जोडिनुभएको थियो । सो क्रममा मैले धेरै नयाँ कुरा सिकेको छु । उहाँ निकै सजिले र सरल तरिकाले सिकाउने प्रशिक्षक हुनुहुन्छ । साथै उहाँले ठूला विषयलाई सहज तरिकाले सल्टाउनसक्ने क्षमता राख्नुहुन्छ । उहाँको यही खुबी नै अहिलेको टिममा परेको हो जस्तो लाग्छ । यस्तै यस्तै विषयको समिश्रणले गर्दा टोली लयमा देखिएको छ ।

नेपालले आज लिगकै अन्तिम खेल युएईसँग खेल्दैछ, जुन निकै महत्वपूर्ण छ, उक्त खेलको अनुमान के छ ?

नेपालले बिहीवार युएईसँग खेल्दै गर्दा म निकै उत्साहित छु । यो उत्साह म मात्रै छैन समग्र नेपाल पनि यस खेलमा उत्साहित छ । सबै नेपाली प्रतिक्षामा छ । उत्साहलाई खुशीयालीमा परिणत गर्न पाउँ भन्ने छ । सुखद् नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा ट्वान्टी–२० विश्वकप पछिको सबैभन्दा यादगार क्षण हुनेछ । यो क्षण २०१४ पछिको हुनेछ । २०१४ मा नेपालले ट्वान्टी खेलेको थियो । युएईसँगको खेलपछि नेपाली टोलीले समग्र नेपालीलाई खुशी अवश्य नै दिनेछ ।

टस कतिको महत्वपूर्ण हुनेछ ?

टस खासै महत्वपूर्ण हुँदैन । तर विकेटको हिसाबले महत्वपूर्ण हुनेछ । टस जिते राम्रो हुने हारे नराम्रो भन्ने हुँदैन । हामी जसरी भएपनि यो खेलमा सुखद् नतिजा निकाल्ने हो । अहिलेको टोलीमा जोश र जाँगर छ । टोलीले लक्ष्य निर्धारण गरेको छ । जति सक्दो राम्रो खेल्ने हो । योजनवद्ध तरिकाले खेल्यौं भने अवश्य नै नतिजा पोल्टामा पर्छ । बल बाई बल अगाडि बढ्नुपर्छ । रणनीतिअनुसार खेल्दा अपेक्षा गरिएको सफलता पाउनेछौं ।

विपक्षी टोलीबिरुद्ध कस्तो रणनीति हुन्छ होला ?

कुनै पनि खेलमा विपक्षीसँग कस्तो खेल्ने भन्ने विषयमा टिम म्यानेजमेन्ट, प्रशिक्षक र कप्तानले निर्धारण गरेको हुन्छ । बाहिर बसेर धेरै कुरामा टिप्पणी गर्नसक्छौं । सबै विषयमा मूल्यांकन ड्रेसिङ रुममा भएको हुन्छ । अघिल्ला खेलमा प्राप्त नतिजाको आधारमा भन्नुपर्दा युएईलाई अन्तिम खेलमा पराजित गर्न कठिन हुनेछैन । सहज तरिकाले हामीले नतिजा निकाल्न सक्छौं ।

समर्थक र खेलाडीलाई सुझाव के छ ?

जुन लयका साथ टोलीले खेलिरहेको छ त्यो लयलाई निरन्तरता दिन आग्रह गर्दछु । कप्तान (रोहितकुमार पौडेल)ले पनि राम्रो तरिकाले टोलीको नेतृत्व सम्हालिरहनुभएको छ । धेरै उत्साहित हुनेपर्ने अवस्था होइन । बल बाई बल केन्द्रित रहेर खेल्दा नतिजा हाम्रै पक्षमा पर्छ । अघिल्ला खेल लिएको लयलाई निरन्तरता दिनु राम्रो हुन्छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्