नेभिगेशन
अर्थ विविध

प्रधानमन्त्रीले हटाए दुई वर्षे श्रम स्वीकृतको प्रावधान

काठमाडौँ– वैदेशिक रोजगारीका लागि पाइने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो प्रावधान हटाइएको जानकारी दिएको हो ।

अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति, रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिने छ ।  र, सोही आधारमा श्रम स्वीकृति दिइने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीस्तरबाट सो निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यसअनुसार वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ । विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको बताएको छ ।

यस्तै, अब पुनः श्रम स्वीकृति लिन समेत नेपाल आउनु पर्ने छैन । पुनः श्रम स्वीकृतको प्रावधान प्रभावकारी रुपमा कार्यान्वयनमा नआउँदा विदेशमा काम गर्ने कामदारले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन नेपाल आउनु पर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएका बेला पाउने राहत र उद्दारको सुविधा नपाएका कारण अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ ।

यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालका खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध