लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

बुधबार, चैत १, २०७९

काठमाडौं–चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा आन्तरिक राजस्व सङकलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।

दोस्रो चौमासिकसम्ममा विभागले ३ खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर यो अवधिको लक्ष्यको तुलनामा ७९ दशमलव ७८ प्रतिशत अर्थात् २ खर्ब ८१ अर्ब ९९ करोड ३० लाख रुपैयाँ मात्रै उठेको हो । 

गत आवको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिको तुलनामा राजस्व असुली १ प्रतिशत बिन्दुले कम हो । विभागले गत आवको ८ महिनामा २ खर्ब ८५ अर्ब १२ करोड २ लाख रुपैयाँ बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ ।

फागुन मसान्तसम्म १ खर्ब ५८ अर्ब २५ करोड ४ लाख रुपैयाँ बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले १ खर्ब १७ अर्ब ७ करोड १९ लाख रुपैयाँ मात्रै असुली गरेको छ । यस अवधिको आयकर लक्ष्यको ७३ दशमलव ९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर सङ्कलन करिब १६ प्रतिशत बिन्दुले कम हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । फागुन मसान्तसम्ममा ८२ अर्ब ४३ करोड ३८ लाख रुपैयाँ भ्याट उठाउने लक्ष्य राखिएकोमा ६८ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ । जुन असुली लक्ष्यको ८३ दशमलव ३२ प्रतिशत बराबर हो । त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर सङ्कलन ३ प्रतिशत विन्दुले न्यून हो । गतवर्ष फागुन मसान्तसम्ममा विभागले ७० अर्ब ७५ करोड ८४ लाख रुपैयाँ बराबर भ्याट उठाएको थियो ।

अन्तःशूल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यसवर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन । विभागका अनुसार फागुन मसान्तसम्म ७६ अर्ब ८२ करोड ४० लाख रुपैयाँ अन्तःशुल्क लक्ष्य लिइएकोमा ८४ दशमलव ३६ प्रतिशत अर्थात् ६४ अर्ब ८१ करोड ६ लाख रुपैयाँ सङ्कलन भएको छ । गतवर्ष फागुनसम्मको तुलनामा यसवर्षको सोही अवधिमा अन्तःशुल्क ४ प्रतिशत विन्दुले बढेको छ ।

दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८ दशमलव ८१ प्रतिशत सङ्कलन भएको छ । फागुन मसान्तसम्मका लागि २ अर्ब १४ करोड ८८ लाख रुपैयाँ बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा १ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बराबर मात्रै उठेको हो । गतवर्षको यही अवधिको तुलनामा घरबहाल कर १० प्रतिशत बिन्दुले घटेको छ । गतवर्ष १ अर्ब ८७ करोड २७ लाख रुपैयाँ बराबर उठेको थियो ।

 त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७ दशमलव ११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा ४ अर्ब ८५ करोड रुपैयाँ स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ७१ करोड रुपैयाँ बराबर मात्रै सङ्कलन भएको देखिएको हो । यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । ८ महिना अवधिमा १ अर्ब ४२ लाख रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा १ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबर उठेको हो ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्