विद्युत चुहावट ८ प्रतिशतमा झर्‍यो

बुधबार, चैत १, २०७९

काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७ दशमलव ९९ प्रतिशतमा सीमित भएको छ । 

नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानमार्फत् नेपाल विद्युत प्राधिकरणले गत वर्षको माघसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १ दशमलव ६६ प्रतिशत विन्दुले घटाइएको छ । गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत चुहावट ९ दशमलव ६५ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत चुहावट १० दशमलव ८६ प्रतिशत थियो । 

यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३ दशमलव ९८ प्रतिशत विन्दुले घटेर ४ दशमलव ८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा यस्तो चुहावट ८ दशमलव ८७ प्रतिशत थियो । 

प्रसारणतर्फको माघसम्म ४ दशमलव ६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत चुहावट १२ दशमलव ५९ प्रतिशतमा सीमित भएको छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । 

चालू आवको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत प्राप्त भएकोमा ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत बिक्री भएको छ । ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ । 

प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताए ।

‘ग्राहकका घरमा राखिएका मिटर रिसिलिङ गर्ने, वक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरी अभियानकै रुपमा सञ्चालन गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । 

‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरु फेरिएका छन्, नयाँ सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालमा आएका छन्, सबस्टेसनको स्तरोन्नति गरिएको छ, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको छ, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको छ, समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको छ’, उनले भने । 

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ ।

प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरुलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणका वितरण केन्द्रहरूले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक नियन्त्रणमा लिंदै कारबाही गर्दै आएका छन् । 

मधेशको चुहावट ११ दशमलव ७८ प्रतिशतमा झर्‍यो

प्राधिकरणका ७ वटा प्रादेशिक कार्यालय र २ वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरणकेन्द्रहरू मध्ये सबैभन्दा बढी विद्युत चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट ११ दशमलव ७८ प्रतिशतमा झरेको छ ।

प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरूको गत वर्षको माघसम्मको समग्र विद्युत चुहावट १२ दशमलव ३० प्रतिशत रहेकोमा यस वर्ष ११ दशमलव ७८ प्रतिशतमा झारेको छ । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४० दशमलव ९७प्रतिशत विद्युत चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट ४१ दशमलव ८६ प्रतिशत थियो ।

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत चुहावट ३८ दशमलव ६४ प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट १५ दशमलव ८६ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३८ दशमलव ३९ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट ३९ दशमलव ३४ प्रतिशत थियो ।रौतहटको गौर वितरण केन्द्रको चुहावट गत वर्ष ३० दशमलव ५२ प्रतिशत रहेकोमा यस वर्ष ३२ दशमलव ४७ प्रतिशत रहेको छ । 

कोशी प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत चुहावट ८ दशमलव १७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट १० प्रतिशत थियो । प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत चुहावट मोरङको रङ्गेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट १९ दशमलव ९५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १६ दशमलव०५ प्रतिशत थियो । 

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रहरुको गत वर्षको माघसम्मको ४ दशमलव ६३ प्रतिशत रहेको समग्र विद्युत चुहावट यस वर्ष सोही अवधिमा ५ दशमलव ९९ प्रतिशत रहेको छ । डिभिजन कार्यालय अन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४ दशमलव ६९ प्रतिशत विद्युत चुहावट रहेको छ । गत त्यस केन्द्रको २९ दशमलव ७५ प्रतिशत चुहावट थियो । 

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रहरूको समग्र विद्युत चुहावट ६ दशमलव २५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९दशमलव ३० प्रतिशत थियो । प्रादेशिक कार्यालय काठमाडौं मातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २२ दशमलव २६ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको २८ दशमलव ९१ प्रतिशत चुहावट थियो । 

गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रहरुको गत वर्षको माघसम्मको समग्र विद्युत चुहावट ८ दशमलव ०३ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा ७ दशमलव २५ प्रतिशत रहेको छ । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष ५ दशमलव १७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३२ दशमलव ६७ प्रतिशत पुगेको छ । 

लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरूको समग्र विद्युत चुहावट  ६ दशमलव ९६ प्रतिशत रहेको छ । गत वर्ष १० दशमलव १४ प्रतिशत थियो । कार्यालय अन्तर्गत  सबैभन्दा बढी चुहावट पाल्पा वितरण केन्द्रको २१ दशमलव ३३ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १६ दशमलव ९५ प्रतिशत थियो । 

लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका ९ वटा वितरण केन्द्रहरूको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ७ दशमलव ४१ प्रतिशत रहेकोमा यस वर्ष सोही अवधिको ५ दशमलव ०६ प्रतिशत रहेको छ । कार्यालय अन्तर्गत सबैभन्दा बढी विद्युत चुहावट रोल्पा वितरण केन्द्रको १५ दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १७ दशमलव १० प्रतिशत थियो । 

कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ७ वटा वितरण केन्द्रहरुको समग्र विद्युत चुहावट १५ दशमलव ७४ प्रतिशत रहेको छ । गत वर्ष १५ दशमलव ६९ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष २३ दशमलव ९० प्रतिशत रहेकोमा यस वर्ष बढेर ३६ दशमलव ४६ प्रतिशत पुगेको छ । 

सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रहरुको माघसम्मको समग्र विद्युत चुहावट ७ दशमलव १६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा चुहावट ७ दशमलव २७ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको रहेको छ । गत वर्ष २१ दशमलव  २० प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष घटेर २० दशमलव  ९१ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्