पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’

बुधबार, चैत १, २०७९

बागलुङ-तल गलकोटमाथि घुम्टे लेक। बीचमा छ टेउवा । ३ वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ । 

२०७६ सालमा टेउवाको डाँडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ । १ हजार ९८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शिलामा कुँदेर बनाएका आकर्षक मूर्ति हेर्न दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । 

गलकोट नगरपालिका–५ मा पर्ने टेउवा ऐतिहासिक गलकोट दरबारको शिरमा पर्छ । शान्त वातावरण, स्वच्छ हावापानी, यहाँ बनेको अनेक आकृतिका मूर्ति र यहाँबाट देखिने अनेकौँ दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । 

टेउवामा पुग्ने आगन्तुकलाई घुम्टे लेकले घुम्टो उघारेर स्वागत गरिरहेको छ । 

टेउवा पुग्ने पर्यटकले हटियार बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना ‘प्याकेज’मै एकै पटक घुम्न सक्ने हुँदा आगन्तुको सङ्ख्या बढेको स्थानीय बताउँछन् । विशेषगरी चाडपर्व र बिदाको दिन टेउवामा आउनेको भीड लाग्ने गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । 

टेउवामा ५ फागुनदेखि २१ सम्म २०७६ मा अन्तर्राष्ट्रियस्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा मूर्ति तयार गरेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका ती मूर्ति खुल्ला सङ्ग्रहालयमा राखिएका छन् । मूर्तिकारले ढुङ्गामा जल, जङ्गल, जमिन, पहाड, लगायतका आकृति तयार गरेका छन् । 

पैदल यात्रामार्फत पर्यटकलाई टेवामा पु¥याउन गलकोट नगरपालिकाले कौलेनी–टेउवा पदमार्ग निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३ लाख रुपैयाँबाट करिब २ सयमिटर पदमार्ग निर्माण गरेको वडा– ५ का अध्यक्ष पवन हमालले जानकारी दिए । टेउवामा पर्यटक आकर्षणका लागि यस वर्षदेखि पदमार्ग निर्माणको थालिनी गरेको उनको भनाइ छ । 

हटियाबाजरदेखि गाडीमा आएर हरिचौरदेखि पदमार्ग हुँदै टेउवा पुग्न सकिने गरी काम भएको अध्यक्ष हमालको भनाइ छ ।  हरिचौरदेखि टेउवा जोड्ने सडक पनि स्तरोन्नति भइरहेको छ । 

टेउवा प्रवेशद्वारका रूपमा रहेको हरिचौर बजारलाई थप व्यवस्थित गराउन थालेको हमाल बताउँछन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १५ लाख रुपैयाँले बजार क्षेत्र ढलान गर्ने काम भएको उनको भनाइ छ । 

टेउवाबाट माछापच्छ्रे अन्नपूर्णलगायत दर्जनौँ हिमशृङ्खला नियाल्न सकिन्छ भने बागलुङ गुल्मीलगायतका ठाउँ पनि यहाँबाट देख्न सकिन्छ । सदरमुकाम बागलुङ बजारदेखि ४५ किलोमिटरमा गलकोट पुग्न सकिन्छ भने गलकोटदेखि हरिचौर हुँदै करिब १ घण्टाको यात्रामा टेउवा पुग्न सकिन्छ । खोलानाला, पाखा पखेरा र गाउँले जनजीवन नियाल्दै पैदल यात्राबाट झण्डै २ घण्टामा यहाँ पुग्न सकिन्छ । 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्