सिन्धुपाल्चोकमा सडक विस्तार : हिउँदमा धुलो, बर्खामा हिलो 

बुधबार, चैत १, २०७९

चौतारा– सिन्धुपाल्चोकको बलेफी जलवीरे ढाडेअन्तर्गत सडक निर्माणका क्रममा हिलो र धुलो अत्यधिक हुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । हिलोका कारण दुर्घटना र धुलोका कारण स्वास्थ्यमा असर परिरहेको स्थानीयवासीको भनाइ छ । धुलोका कारण घाँटी दुख्ने, रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या बढ्दै गएको छ । 

स्थानीय देवीमाया नेपालले धुलोका कारण स्वास्थ्यमा असर पर्नुका साथै वातावरण समेत प्रदूषित हुँदै गएको बताइन् । ‘हिउँदको समयमा पनि सडक कतै हिलाम्मे र कतै धुलाम्मे छ । सडक आसपास बसोबास गर्ने तथा पैदलयात्री, र मोटरसाइकलमा यात्रा गर्नेलाई निकै सास्ती हुने गरेको छ,’ उनले भनिन् ।

स्थानीय भीमबहादुर विकले अत्यधिक धुलोका कारण यात्रा गर्न समस्या भएको बताए । उनले भने, ‘दैनिक यात्रा गर्न समस्या छ, निर्माणकार्य सुस्त गतिमा भइरहेकाले पनि अत्यधिक धुलो भएको हो ।’ यतिबेला सडक विस्तारका साथै वरपर नाली मर्मत तथा भित्ता उठाउने काम भइरहेको छ । 

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी अनक कविर जेभी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोरेबहादुर तामाङ करिब ९५ प्रतिशत काम सकिएको बताए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्