सुनकोसीका सबै सडक स्तरोन्नति हुँदै

बुधबार, चैत १, २०७९

चौतारा– सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो ।

उक्त सडकखण्डमा १२ महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नति लागि पालिकाले एक्साभेटर अपरेटर नियुक्त गर्नाका साथै इन्धनको प्रबन्ध गरी काम अगाडि बढाएको छ । सडकका साथै नाला र आसपासका अन्य भौतिक संरचना पनि निर्माण भइरहेका छन् ।

पालिकाभित्रका सडकको वर्गीकरण गरेर सङ्घ, प्रदेश र स्थानीय सरकारले स्तरोन्नति गर्ने अध्यक्ष तिमल्सिनाले बताए । आगामी पाँच वर्षभित्र पालिकाभित्रका सबै सडक स्तरोन्नति गरिसक्ने उनको भनाइ छ । ‘सडक चौडा, नाला निर्माणलगायत काममा के–कति खर्च लाग्छ,सबै जनताका अघि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ,’ वडा नं ६ का पूर्ववडाध्यक्ष रामकुमार थापाले भने । 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार