समयमै टेन्डर नगरिँदा आउँदो बर्खे सिजनमा रासायनिक मलको 'हाहाकार' हुने

बुधबार, चैत १, २०७९

काठमाडौँ– आगामी बर्खे धानबालीको सिजनमा रासायनिक मलको हाहाकार हुने देखिएको छ । सरकारले रासायनिक मलका लागि समयमै टेन्डर नगर्दा आउँदो वर्ष पनि किसानले मल अभावको सास्ती खेप्नुपर्ने भएको हो ।

आगामी बर्खे धानबालीको सिजन जेठ लागेपछि सुरु हुन्छ । आउँदो जेठ १५ देखि साउन अन्तिमसम्म किसानलाई धानबाली लगाउन मल चाहिन्छ । त्यसबेला चाहिने मलका लागि ६ महिनाअघि नै टेन्डर गर्नुपर्ने हुन्छ । 

अर्थात, मल खरिदको ठेक्का लागेको ६ महिनापछि मल आउँछ । अनि मात्र किसानलाई वितरण गरिन्छ । तर, सरकारले आउँदो बर्खे धानबालीको सिजनका लागि अहिलेसम्म मल खरिद प्रक्रिया अघि नबढाउँदा मलको अभाव हुने भएको हो ।

मल खरिद र वितरणको जिम्मा पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले रासायनिक मल खरिदका लागि टेन्डरमा गरेको ढिलाइले धान लगाउने समयसम्म मल नआउने देखिएको छ । आगामी वर्षका लागि मल खरिद गर्न अर्थ मन्त्रालयले साढे ७ अर्ब रुपैयाँ रकम सुनिश्चितता गरिसकेको छ ।

तर, मल खरिदका लागि रकम सुनिश्चित गरिए पनि समयमै टेन्डर नगरिँदा किसानले चाहिएको बेला मल नपाउने अवस्था पक्कापक्की जस्तै छ । अहिले कृषि सामग्री कम्पनीसँग ७५ हजार टन मात्र मल मौज्दात छ । बाँकी मलको ठेक्का आह्वान ढिलो गरिँदा किसानले मल नपाउने अवस्था छ ।

मौज्दात रहेको मल चैत र बैशाखसम्म पनि धान्न सक्ने अवस्था छैन । अधिकांश टेन्डर फागुनमा गरिँदा मल असार–साउनसम्म नआउने देखिएको छ । कम्पनीका अनुसार हाल ५१ हजार मेट्रिक टन युरिया २४ हजार टन डिएपी  कम्पनीको गोदाममा मौज्दात छ । 

बाँकी २०-२० हजार टन डिएपी र युरिया मल खरिदका लागि सम्झौता हुन बाँकी छ । सम्झौताको अन्तिम तयारीमा रहेको मल आउन पनि ५-६ महिना लाग्ने देखिन्छ ।

मूल्य घटेका कारणले विनियोजित बजेटबाट बचत हुन आएको रकमले ३० हजार मेट्रिक टन युरिया मलको  खरिद प्रक्रिया अघि बढाइसकिएको छ । तर, मल कहिलेसम्म आइपुग्छ कम्पनीलाई नै पत्तो छैन । 

कम्पनीका खरिद शाखा प्रमुख राजेन्द्रबहादुर कार्की टेन्डर भएको मल समयमै आइदिएमा मलको अभाव नहुने दाबी गर्छन् । तर, उनले दाबी गरेअनुसार फागुन महिनाभर भएका टेन्डरको मल आइपुग्न कम्तीमा भदौ कुर्नुपर्ने हुन्छ । किसानले भने मध्य जेठबाट नै मल खोज्न थाल्छन् ।

तराईमा चैतेधानका लागि पनि किसानलाई मल चाहिन्छ । मौज्दात भएको मल धानबालीसँगै चिया, मकै, गहुँलगायतका बालीमा प्रयोग गर्ने चलन बढेको छ । यसले पनि के देखाउँछ भने मौज्दात मलले जेनतेन वैशाखसम्म धाने पनि जेठ लागेपछि मल अभाव हुन थाल्नेछ ।

भ्रष्टााचार आरोपको मुद्दा जितेर कम्पनीका प्रवन्ध सञ्चालकको जिम्मेवारीमा फर्किएका नेत्रबहादुर भण्डारीले मल खरिदका लागि खासै चासो नदिँदा मल खरिद प्रक्रियामा ढिलाइ हुन पुगेको देखिन्छ । उनी गत पुसमा कम्पनीमा हाजिर भएका थिए । तर, माघ मसान्तसम्म कुनै टेन्डर नै आह्वान गर्न सकेनन् । 

कहिले बजेट सुनिश्चितता नहुनु त कहिले समयमै टेन्डर हुन नसक्दा हरेक वर्ष किसानले मल अभावको सास्ती खेप्दै आएका छन् । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन मलको माग भए पनि मुस्किलले ३ लाख मेट्रिक टन मात्र मल खरिद हुँदै आएको छ ।

नेपालमा मल उत्पादन नहुने हुँदा वर्षेनि भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ । 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्