Nic Ad Nic Ad
Nic Ad Nic Ad

रसुवागढी जलविद्युत् आयोजनाको ९५ प्रतिशत काम सकियो

असार मसान्तभित्र विद्युत् उत्पादन
बुधबार, चैत १, २०७९

काठमाडौँ– एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत काम सकिएको छ । आयोजना निर्माणको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका काम लगभग पूरा भइ आउँदो असार मसान्तभित्र आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन गर्ने तयारी भइरहेको आयोजना प्रमुख छवि गैरेले सिएन नेपाललाई जानकारी दिए ।

‘आयोजनाका बाँकी सबै काम हामीले असार मसान्तभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तयारी छ,’ उनले भने, ‘हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

आयोजनाले तीनवटा लटमा वर्गीकरण गरी काम गरिरहेको छ । लट–१ अन्र्तगत सिभिल एन्ड हाइड्रो मेकानिकलतर्फ सिडब्लुई चिनियाँ कम्पनीले काम गर्दै आएको छ । पावरहाउसभित्र जडान गर्ने उपकरण तथा मेसिनलगायतका संरचनाका काम अन्तिम चरणमा छ ।

लट–२ अन्र्तगत इलेक्ट्रो मेकानिकलतर्फ ८५ प्रतिशत निर्माण सकिएको आयोजनाले जनाएको छ । इलेक्ट्रो मेकानिकलतर्फ भोइथ हाइड्रो कम्पनी इन्डियाले काम गरिरहेको छ । त्यस्तै, लट–३ अन्र्तगत प्रसारण लाइनतर्फ रोयल कन्ट्रक्सन कम्पनीले काम गर्दै आएको छ । यसअघि ठेक्का पाएको मुडभरी एन्ड जोशी कम्पनीले निर्माणमा ढिलाइ गरेपछि ठेक्का रद्ध गरी पुनः ठेक्काबाट रोयल कन्ट्रक्सनले छानिएको थियो ।

कुल ३२ वटा टावर बनाउनुपर्नेमध्ये अहिले टावर निर्माणको फाउन्डेसनको काम सबै सकिएको छ । १६ वटा टावर ‘मेटेरियल’ आयोजनास्थलमा पुगिसकेका छन् भने अरु टावर कलकत्ताबाट हिडाइसकिएको गैरेले जानकारी दिए । टावर ठड्याएर तार तान्ने काम डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ । 

रसुवागढीको पावर हाउसदेखि चिलिमे हबसम्म आयोजनाले नै प्रसारण लाइन बनाउने छ । करिब १० किलोमिटर लामो प्रसारण लाइन तानेर उक्त आयोजनाको बिजुली चिलिमे हबसम्म ल्याएर जोडिने छ ।

भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतकाबु बाहिरका परिस्थितिबाट आयोजना प्रत्यक्ष रुपले प्रभावित हुँदा आयोजनाको लागत र समय लम्बिएको आयोजनाले जनाएको छ । कार्यालय सञ्चालन, प्रशासनलगायतका खर्चमा वृद्धि भएको छ । अमेरिकी डलरमा आएको उतारचढावले 

टेन्डर गर्दा एक डलर बराबर ८० देखि १०० रुपैयाँ परेको थियो भने अहिले प्रतिडलर बराबर १३० रुपैयाँसम्म पुगेको छ । विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) र ऋण सम्झौता गर्दा १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको थियो । आयोजनाको पीपीए सन् २०११ नेभेम्बर १४ मा भएको थियो ।

त्यसलगत्तै ठेक्काको अवधिसम्म (८ महिनापछि ) डलरको उतारचढावले आयोजनाको लागत १५ अर्ब ३७ करोड लागत पुगेको थियो । र, आउँदो असार मसान्तसम्म १७ अर्ब ४ करोडसम्म लागत पुग्ने देखिएको उनले बताए ।

हालसम्म साढे १५ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । बर्खायाममा बाढी, पहिरो र हिउँदमा सुख्खा पहिरोको प्रत्यक्ष मार आयोजनाले भोग्दै आयो । २०२१ को जुनमा ठुलो बाढी आएर विद्युतगृहमा राखिएको सामान र मेसिनरी बगाउँदा आयोजनाले करोडौं क्षति ब्यहोर्नुपरेको थियो ।

आयोजनाका निर्मित सम्पूर्ण संरचना भूमिगत हुनेछन् । रसुवागढीस्थित भोटेकोसी खोलाको बाँध एवं विद्युत्गृहमा पानी लाने चार हजार १८५ मिटर लामो सुरुङ भने दुई वर्षअघि नै निर्माण गरिसकिएको छ ।

पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१२ बाट आयोजना निर्माण सुरु भएको थियो ।  विभिन्न कारणले आयोजना प्रभावित हुँदा निर्माणमा ढिलाई हुँदै गएको देखिन्छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र २ का थुमान र टिमेर क्षेत्रमा आयोजना निर्माण भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्