स्ववियु निर्वाचनको आचारसंहिता लागू, प्रचारप्रसार बिहीबारसम्म

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं–त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो ।

अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचारप्रसार गर्न पाउनेछन्। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले चैत २ गते बिहीबार राती १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।

स्ववियु निर्वाचनमा आचारसंहितामा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ । यस्तै आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएका छन् ।

उनले सम्बन्धित क्याम्पस प्रमुखलाई भर्ना विवाद समस्या समाधान गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको जानकारी दिए ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्