नेभिगेशन
सुरक्षा–अपराध

अमेरिकाबाट अबैध रुपमा रकम नेपाल भित्र्याउने पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा

काठमाडौँ– जिल्ला अदालत काठमाडौंले ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । शाह सहितको समुहले अमेरिकामा ठगी गरी त्यस्तो रकम नेपाल भित्र्याउने गरेको आरोप लागेको छ ।

सो अभियोगमा पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई भने जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतको आदेशपछि सोमबार शाहसहित उनका भाइ विजयविक्रम शाह तथा सहयोगीहरु अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् । संलग्न १३ जना भने अझै फरार छन् ।

फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौं सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह छन् ।

अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।

पृथ्वीबहादुर शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी खडा गरेका सीआईबीको अनुसन्धानले देखाएको छ । उनीहरुले कम्पनीको उद्देश्य विपरीत आधिकारिक निकायबाट विदेशी लगानी भित्राउने अनुमति नलिएको तर विदेशबाट रकम ल्याइरहेको पाइएको थियो ।

उनीहरुले अमेरिकी नागरिकसम्म एन्टी भाइरस अपडेट, अमेजनको विल भुक्तानीलगायतका विभिन्न निहुँमा सम्पर्क स्थापित गरेका थिए । त्यसपछि रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत ब्यांक एकाउन्टमा पहुँच बनाएर खाताको रकम नेपाल र थाइल्याण्ड पठाएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले जानकारी दिएको छ । यस्तै, शाहको समूहले काठमाडौं महानगरपालिका–७ मा खरिद गरेको एउटा जग्गामा लिखत मूल्य कम देखाई राजस्व र लाभ कर छलेको पनि सीआईबीले फेला पारेको छ । 

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्दा सञ्चालक भागवत सुवेदीको कीर्ते औंठाछाप लगाएको, उक्त कम्पनी नामसारी हुँदै रुक्मांगत काफ्लेबाट अनुप खड्काको नाममा सञ्चालनमा रहेको तर आर्थिक कारोबार पृथ्वीले गर्ने गरेको सीआईबीले अनुसन्धानबाट खुलेको छ ।

उनीहरुबाट कूल ५६ जना ठगीमा परेको र तीमध्ये २४ जनाले उजुरी दिएको सीआईबीको भनाइ छ । पीडितले आफूहरुको २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी भएको बताएका छन् । शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार १३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ ।

पृथ्वीबहादुर शाहको समूहले ५६ जना व्यक्तिबाट ४५ लाख अमेरिकी डलरभन्दा बढी ठगी गरेको फेला परेको छ । शाहसतिको समूहले ५६ जना व्यक्तिबाट ४५ लाख ४६ हजार ६३९ अमेरिकी डलर ठगी गरेको फेला पाइएको नेपाल प्रहरीको सिआइबीको भनाई छ ।

शाहको समूहले ठगी गरेको सो रकम नेपालमा स्विफ्टमार्फत् प्राप्त गरेको देखिएको हो । यसमध्ये कुमारी, एनसिसी, ग्लोबल आइएमईलगायत बैंकले उनले ल्याएको अवैध रकम १५ लाख ६० हजार ५७७ अमेरिकी डलर भने अझै पनि होल्ड गरेर राखेका छन् । शाहले ३५ करोड ८६ लाख ६२ हजार रुपैयाँ भने खातामा डिपोजिट गर्न भ्याएका थिए । 

शाहको समूहमा रहेका व्यक्तिहरूले संगठित रूपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी स्थापना गरेको सिआइबीको अनुसन्धानले देखाएको छ । उनको समूहले रिमोट एक्सेसबाट पीडितको डिभाइसमार्फत बैंक एकाउन्टमा पहुँच पुर्‍याई उनीहरूको बैंकमा रहेको रकम नेपाल र थाइल्यान्ड पठाउने गरिएको पाइएको छ ।

सिआइबीले उनीहरूविरुद्ध ४ प्रकारका मुद्दा चलाउन सिफारिस गरेको छ । ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधअन्तर्गतको कानुन आकर्षित हुने उसले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध