विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम– २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताहरूका समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा सुरु गर्ने विषयमा कानुन बनाएर संसद्बाट पारित गर्ने क्रममा रहेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गरे । उनले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गरे । उनले चीन सरकारले नयाँ प्रविधि र ठुलो लगानी भित्र्याउन सहयोग गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध रहेको जिकिर गरे । उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे । 

प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीकाविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । 

कार्यक्रममा सिसिपिआइटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध बिस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताए । उनले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरू नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गरे । दुईपक्षीय व्यापार प्रवर्धन गर्दै जाने चीन सरकारको नीति भएको बताए । उनले आफूहरू नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरू पहिचान गर्ने काममा लागेको पनि जानकारी दिए । उनले आफूहरुले नेपालसँग स्वच्छ उर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्नेसोच बनाएको बताए । 

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

राजदूत साङले नेपालीहरूलाई चीन भ्रमण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरू खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल र चीनका व्यपारीहरूबीच सोमबारदेखि छलफल सुरु भएको हो । करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरूबीच छलफल भएको हो । सिसिपिआइटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्