उपराष्ट्रपतिका उम्मेदवार यादव मत माग्दै

सोमबार, फागुन २९, २०७९

काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले शीर्ष नेताहरूलाई भेटेर भोट मागेका छन् ।

प्रतिनिधिसभामा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता समेत रहेका यादवले सोमबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटेका छन् । उनीसँगै जसपा नेता प्रदीप यादव नेपालको निवास कोटेश्वर पुगेका थिए ।

यस्तै नेपालसँग भेट पछि यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँग सिंहदबारमा भेटेर भोट मागेको उनले जानकारी दिए ।

उनले सोमबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेर भोट माग्दै छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ । उपराष्ट्रपतिका लागि गठबन्धनबाट जसपाकै प्रमिला यादव र जनमत पार्टीकी ममता झा तथा नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य उमेदवार बनेका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्