आर्थिकमन्दीले होम–स्टे सन्चालक मारमा

सोमबार, फागुन २९, २०७९

बाग्लुङ–४ वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे । 

२०७४ सालमा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए । घरबास सञ्चालनमा ल्याएपछि उनीहरूको दैनिकी बदलिँदै गएको थियो । १ वर्षमै विश्वभर महामारीका –पमा कोभिड–१९ फैलियो । यसको प्रत्यक्ष असर यहाँका घरबास सञ्चालकलाई पनि परेको थियो । 

झण्डै २ वर्ष कोभिडका कारण बन्द भएको घरबास पुनः सञ्चालनमा आयो । गत असोज महिनासम्म तोरीखोला घरबासमा पाहुनाको चाप निकै बढेको थियो । टाढा–टाढाबाट गलकोट घुम्न आउने आन्तरिक पर्यटकको बासस्थान तोरीखोला घरबासनै हुन्थ्यो । पाहुनाको आकर्षक थलो बनेपछि घरबास सञ्चालकको आयआर्जन र जीवनशैली फेरिँदै गएको थियो । जब बजारमा महँगी बढ्यो र तरलता अभाव हुन थाल्यो त्यसपछि घरबासमा आउने पाहुना क्रमशः घट्दै गए । आर्थिकमन्दीले गर्दा पाहुनाको आगमन घटेपछि घरबास सञ्चालक पनि समस्यामा पर्दै गएका छन् ।

कुनै दिन दैनिक ५० जनाभन्दा बढी पाहुन आउने तोरीखोला घरबासमा अहिले महिनामा ५० पुग्न गाह्रो छ । यातायात र इन्टरनेटको सहज पहुँच रहे पनि पाहुनालाई भित्रयाउन गाह्रो भइरहेको छ । पहिलेको जस्तो पर्यटकीय ठाउँमा घुम्नेको सङ्ख्या घटेपछि घरबासमा बास बस्न आउनेह पनि घटेको सञ्चालकको भनाइ छ । पाहुनाका लागि पालेका स्थानीय जातका कुखुरा घरबास सञ्चालकले बाहिरै बजारमा लगेर बेच्न बाध्य भएका छन् ।

घरबास सञ्चालक सीता पुन भन्छन्, ‘सबै व्यवस्थापन राम्रो गर्दै गएका थियौँ, दैनिक पाहुनको चाप पनि बढेको थियो, चार÷पाँच महिना भयो, यहाँ आउने पाहुना निकै कम हुनुहुन्छ, हाम्रो कमी कमजोरीको कारणले त होइन होला, सबैले राम्रो छ भन्नुहुन्थ्यो, अहिले पाहुना ह्वात्तै घटेपछि हामीहरुलाई पनि अचम्म लागेको छ ।’

४ वर्षदेखि सञ्चालनमा आएको तोरीखोला घरबास गलकोटको हटिया र नरेठाटी बजारदेखि नजिकै पर्छ । हटिया बजारबाट १ घण्टा र नरेठाटी बजारबाट आधा घण्टामा यहाँ पुग्न सकिन्छ । स्थानीयले ५ घरमा घरबास सञ्चालन गरिरहेको पुनको भनाइ छ । शान्त वातावरण, गाउँले हावापानी र लोकल खानाको स्वाद लिनका लागि पर्यटक यहाँ आउने गरेको सञ्चालक पुनको भनाइ छ ।  

गलकोट क्षेत्रमा तोरीखोला घरबाससँगै वडा – १० को पाण्डपखानीमा सिद्धथान सामुदायिक होमस्टे, वडा नम्बर ६ मा ‘स्टोन भिलेज’ सामुदायिक होमस्टे र वडा नम्बर ११ मा रिघा सामुदायिक होमस्टे सञ्चालनमा रहे पनि पाहुना नआएको सञ्चालक बताउँछन् । यी घरबास सुरुआती चरणमा रहेको हुँदा प्रचारप्रसारलाई जोड दिएको सिद्धथान सामुदायिक होमस्टका अध्यक्ष खिमबहादुर पुनमगरले बताए ।

२०७५ सालमा गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोगमा स्थापना गरेको यो घरबास कोभिड सङ्क्रमण फैलिनुपूर्व निकै चलेको भन्दै अहिले सुस्ताउँदै गएको अध्यक्ष पुनमगरको भनाइ छ । प्रदेश सरकारले दिएको अनुदानले घरबासमा इन्टरनेट जडान, बिस्तरा तथा शौचालय व्यवस्थापन गरेको  सुनाउँदै पछिल्लो समय पाहुनाको कमी हुँदै गएको बताए ।

पाहुनाले लोकल कुखुरा, कोदोको ढिँडो, रक्सी, भाँगोको अचार मन पराउने गरेको हुँदा आफूहरुले उत्पादन बढाएको भन्दै पाहुन कम हुँदा उत्पादन खेर जाने अवस्था आएको पुनमगरको दुखेसो छ ।

घरबासलाई थप पाहुनामैत्री बनाउन स्थानीय जुटेको उनको भनाइ छ । स्थानीय पालिकाले घरबाससम्म पुग्ने सडक र त्यस क्षेत्र वरपर रहेका धार्मिक तथा पर्यटकीयस्थललाई व्यवस्थित गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।

घरबास सञ्चालनसम्बन्धी तालिम, खाना पकाउने तरिकालगायतका विषयमा थप तालिम प्रदान गर्न आवश्यक रहेको भन्दै नगरपालिकाले त्यसको व्यवस्था गर्ने भण्डारीको भनाइ छ ।


 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार