अर्थतन्त्रलाई चलायमान बनाइनुपर्छ : अर्थविद् नेपाल

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– अर्थविद् डा. गोविन्द नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तर्क्रियामा उनले ५ वर्ष सरकार सञ्चालन हुन सक्ने परिस्थिति निर्माण भएकाले अर्थतन्त्र गतिशील हुने विश्वास व्यक्त गरे । 

अर्थविद् डा. नेपालले विद्यमान आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सुधार गरी विकासको आधार तयार गरेर जनताको आवश्यकता पूर्तिमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

उनले भने, ‘अर्थतन्त्रको सूचक राम्रो छैन, लगानी पनि बढेको छैन, सार्वजनिक सेवा पनि सुधारोन्मुख छैन । त्यसैले योजनाबद्ध सुधारका कार्यक्रम ल्याउन जरुरी छ । सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनुका साथै आत्मनिर्भरता र उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ ।’

सेजनका अध्यक्ष जनार्दन बरालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्