क्रिकेटर बोहरा गृह जिल्लामा सम्मानित

शनिबार, फागुन २७, २०७९

बैतडी– क्रिकेटर दीपक बोहरालाई गृह जिल्ला बैतडीमा सम्मान गरिएको छ । 

हालै युएईमा सम्पन्न एसिया छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दै सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । उक्त नेपाली टोलीका सदस्य बोहरा पनि थिए । 

बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले सम्मान गरेको हो । उनी उक्त एकेडेमी तथा क्लबमा आबद्ध छन् । 

बैतडी जस्तो विकट क्षेत्रबाट राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्दै विश्वकपमा पुर्‍याउन योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए । 

दीपकलाई खादा, अबिर र प्रमाणपत्रसहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बैतडी जिल्ला क्रिकेट सङ्घका पूर्वअध्यक्ष रमेशबहादुर बोहरा, निंग्लाशैनी क्रिकेट क्लबका कोषाध्यक्ष डीलाइट बोहरा, निंग्लाशैनी मन्दिरका भण्डारी चक्रबहादुर बोहरालगायतको उपस्थिति थियो । युएईमा बोहराले ३ वटा खेल खेलेका थिए । 

पोलार्ड उपनामले परिचित बोहरा दशरथचन्द नगरपालिका २ देहिमाडौँमा विसं २०६१ पुस ११ मा जन्मिएका थिए । सानैदेखि क्रिकेटमा रुचि राख्ने उनले धुले मैदानबाट क्रिकेट खेल्न सुरु गरेका थिए । उनी मध्यक्रमका ब्याटर हुन् । 

विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ क्यानले जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २०:३८
प्रतिक्रिया दिनुहोस्