स्ववियु निर्वाचन : काभ्रेका १४ क्याम्पसमा तालाबन्दी

शनिबार, फागुन २७, २०७९

काभ्रेपलाञ्चोक– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको पूर्वसन्ध्यासम्ममा काभ्रेपलाञ्चोकको १४ क्याम्पसमा तालाबन्दी गरिएको छ । जिल्लामा रहेका अन्य दुई क्याम्पसले भने निर्वाचन नगर्ने जनाउँदै सूचना टाँसेका छन् । 

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा हुने स्ववियु निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ताको दिन रहेको थियो । तालाबन्दी तथा क्याम्पस प्रशासनले निर्वाचनमा सहभागी नहुने जनाएका कारण कुनै पनि क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन । 

यस्तै शुक्रबार कार्यतालिकाअनुसार जिल्लाको केही क्याम्पसमा मात्रै मतदाता नामावली प्रकाशन भएका थिए । 

क्याम्पसमा फर्जी विद्यार्थी भर्ना र क्याम्पस प्रशासनले फरकफरक नियम र व्यवहार देखाएको आरोप लगाउँदै विभिन्न विद्यार्थी सङ्गठनले जिल्लाका १४ क्याम्पसमा ताला लगाएका हुन् । ‘केही क्याम्पसमा अप्राकृतिक ढङ्गबाट विद्यार्थी भर्ना भएका छन्, क्याम्पस प्रशासनले पनि फरकफरक व्यवहार देखाएका कारण विरोधस्वरुप तालाबन्दी भएका हुन्, ती क्रियाकलाप र व्यवहार सच्चिनुपर्छ र समस्या हल गर्दै अगाडि बढ्ने पक्षमा छौँ’, नेपाल विद्यार्थी सङ्घका जिल्लाध्यक्ष अन्जनराज खतिवडाले भने । 

केही दिनदेखि काभ्रेपलाञ्चोकका क्याम्पसमा तालाबन्दीको प्रतिस्पर्धा चल्दा आठ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन अन्योल बनेको हो । क्याम्पसमा तालाबन्दी गर्न अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियु (समाजवादी)ले छुट्टाछुट्टै नेतृत्व गरेको पाइएको छ । अनेरास्ववियुका जिल्लाध्यक्ष अशोक खनालले कतिपय क्याम्पसले फर्जी विद्यार्थी भर्नादेखि सङ्गठन दर्तामा नै विभेद गरेपछि क्याम्पस प्रशासनसँगको माग सुनुवाइ नहुँदा बाध्य भएर तालाबन्दी गरेको बताए । 

जिल्लास्थित विद्यार्थी सङ्गठनबीच रहेको आरोप प्रत्यारोपका कारण पनि तालाबन्दी भएको बताइन्छ । केही दिनदेखि विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच विवाद बढ्दै जाँदा बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको निर्वाचन समितिले बिहीबार नै राजिनामा दिएको थियो । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला तथा आज नै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको थियो । स्ववियु निर्वाचनको मतदान आउँदो चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्