माओवादीहरूलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढाउनुपर्ने बताएका छन् ।

शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताए ।

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने धारणा राखे ।

उनले द्वन्द्वकालका घटनाहरूको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताए । पूर्वसभामुखसमेत रहेका सापकोटाले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउने कोसिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताए ।

उनले विस्तृत शान्ति सम्झौताको गम्भीरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसैअनुसार समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्