मधेस प्रदेशसभा बिजनेसविहीन

शुक्रबार, फागुन २६, २०७९

जनकपुरधाम–मधेस प्रदेशसभाको बैठक १ महिनादेखि बस्न सकेको छैन । सरकारले प्रदेशसभालाई ‘बिजनेस’ नदिँदा बैठक बस्न नसकेको हो ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार गठन भए पछि प्रदेशसभाले बिजनेस पाएको छैन । प्रदेशसभामा निर्वाचित भएका नयाँ सांसदहरूको शुभकामना आदानप्रदान र सभामुख र उपसभामुखको निर्वाचन बाहेक प्रदेशसभाको बैठक बिजनेसविहीन भएको छ ।

प्रदेशसभाको बैठक पछिल्लोपटक ४ फागुनमा बसेको थियो । सरकारले बिजनेस नदिँदा प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलको भनाइ छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादव पनि बिजनेसको अभावमा बैठक बस्न नसकेको बताउँछन् । 

विगतमा प्रदेशसभामा दर्ता गरिएका कतिपय विधेयकको प्रक्रिया अगाडि बढाइएको छैन । कतिपय विधेयकहरू संसदीय समितिमै रहेको अवस्थामा प्रदेशसभाको पहिलो कार्यकाल सकिएको थियो ।

‘ती विधेयकहरूलाई पुनः सभामा प्रवेश गराउन वर्तमान सरकारले स्वामित्व लिई पुनः प्रदेशसभामा पठाउनुपर्ने कानुनी प्रवधान छ,’ सचिवालयका सचिव यादवले भने, ‘विगतमा सभाबाट पास हुन नसकेको विधेयकहरूलाई पनि स्वामित्व लिई सरकारले अगाडि बढाउन सक्छ ।’

खेलकुदसम्बन्धी विधेयक, प्रदेश आवश्यक सेवा सञ्चालनसम्बन्धी विधेयक र मदरसा शिक्षा तथा बोर्ड गठनसम्बन्धी विधेयक प्रदेशसभामा दर्ता छन् ।

प्रदेश सरकारले अहिलेसम्म ५७ कानुन बनाएको छ । तीमध्ये ५५ वटा ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ । प्रदेशले बनाएको ऐन र संघले बनाएको ऐन बाझिए प्रदेशले बनाएको ऐन स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्