नबिलले दियो सुरक्षित कार्यस्थलका लागि हिंसा तथा उत्पीडनको सुरक्षा तालिम

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ- नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ ।

७० जना कर्मचारीहरूका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

उपत्यकाभित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइन मार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमबाट कर्मचारीहरूले कार्यस्थल हिंसा तथा उत्पीडन भनेको के हो ? कार्यालयमा यस किसिमका गतिविधिहरू कुन तरिकाबाट हुन सक्छ ? यस्ता गतिविधिहरू हुन नदिन कसरी सजग सहनुपर्छ र यदि यस्ता गतिविधिहरू कार्यस्थलमा भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा व्यावहारिक तथा प्रयोगात्मक तरिका प्रदर्शन गरी जानकारी दिइएको थियो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिहरूको सामना गर्न यस प्रकारको जानकारी मूलक कार्यक्रम उपयोगी रहेको बताए ।

नबिल बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा नेपालको कानुनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताइन् ।

‘मैले यो कक्षामा आत्मरक्षासम्बन्धी तरिका मात्र सिक्छु सोचेको थिएँ । तर मैले धेरै उपयोगी सीपहरू सिक्न पाएँ । जस्तै कसरी यौन हिंसा अथवा कुनै दुर्व्यवहार हुँदा प्रस्तुत हुने, कसरी आफूलाई सुरक्षित राख्ने, आफ्नो आवाजलाई कसरी औजार बनाउने जस्ता धेरै कुरा सिक्न पाएँ । जसले मेरो आत्मबल बढेको छ’ उनले भनिन् ।

आफ्नो कार्यालय स्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्न सक्ने हिंसालाई ध्यानमा राखेर नारी दिवसको दिनमा बैंकका कर्मचारीहरूलाई यो १ दिने तालिम सञ्चालन गरेको नबिल बैंकका मानव संशाधन प्रमुख दिवस कार्कीले बताए ।

कार्यक्रम सोचेको भन्दा उपयोगी भएको प्रतिक्रिया सहभागीहरूबाट आएकाले आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला मिलेको प्रतिक्रिया उनको छ ।

कर्मचारीहरूको सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै उनले यस्ता कार्यक्रमले सहभागीहरूमा हिंसाका घटनाहरू घट्न नदिन कस्तो किसिमको सतर्कताहरू अपनाउने र कथमकदाचित आफूमा यस्ता गतिविधिहरू हुन गएमा आत्मरक्षाका लागि कस्ता विधिहरू अपनाउनुपर्छ भन्ने ज्ञानले सहभागीहरूमा आत्मबल बढेको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार