फोहर जलाउन इन्सिनेरेटर जडान

शुक्रबार, फागुन २६, २०७९

झापा –शिवसताक्षी नगरपालिकाले झापामै पहिलो पल्ट प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । 

वडा – ७ मा २ बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताए । 

प्रतिघण्टा ३०० केजी फोहर जलाएर नष्ट गर्नसक्ने क्षमताको उपकरण २ वर्षअघि नै खरिद गरेर नगरपालिका कार्यालय परिसरमा राखिएको थियो । उपकरणले फलामबाहेक प्लास्टिकजन्य फोहरलाई सुरक्षितरूपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ ।

इन्सिनेरेटर खरिदमा १ करोड र व्यवस्थापन केन्द्र निर्माणमा २ करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ । परियोजनाका लागि सम्पूर्ण संरचना निर्माण गर्न १२ करोड रुपैयाँ लगानी हुने नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए ।

फोहर छुट्याउने चेम्बर, गाडी पार्किङलगायतस्थाल निर्माण गरेर १ महिनापछि फोहर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याइने उनले बताए । फोहर व्यवस्थापन केन्द्रभित्र आकर्षक बगैँचा बनाउने नगरको योजना छ ।

झापाका १५ पालिकामध्ये इन्सिेनेरेटर जडान गर्ने शिवसताक्षी पहिलो पालिका हो । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्