ए डिभिजनमा मच्छिन्द्रको लगातार दोस्रो हार

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले लगातार दोस्रो हार बेहोरेको छ । 

बिहीबार ललितपुरस्थित च्यासल मैदानमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै मच्छिन्द्रले लगातार दोस्रो हार बेहोरेको हो ।

आर्मीलाई जित दिलाउन दीपक गुरुङ र नवयुग श्रेष्ठले १–१ गोल गरेका थिए । दीपकले खेलको ४८औँ मिनेटमा र नवयुगले ५९औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम ९एनआरटी०लाई २–१ गोलअन्तरले हराउँदै जावलाखेलले लगातार दोस्रो जित निकालेको छ ।  

जावलाखेलको जितमा कप्तान सीमान्त थापा र फोडे फोफानाले १–१ गोल गरे । एनआरटीका सञ्जीव विष्टले १ गोल फर्काए ।

खेलको ६८औँ मिनेटमा सीमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७७औँ मिनेटमा फोफानाले गोल गर्दै जावलाखेल २–० ले अघि रह्यो ।

खेलको ८० औँ मिनेटमा दोस्रो हाफमा मैदान छिरेका एनआरटीका सञ्जीवले गोल गरे पनि जावलाखेल २–१ ले विजयी भयो ।

जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोडेको छ । एनआरटीको यो लगातार दोस्रो हार हो ।

ए डिभिजन लिगअन्तर्गत शुक्रबार एन्फा कम्प्लेक्समा खुमलटार र थ्री स्टार तथा दशरथ रंगशालामा चर्च ब्वाइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्