हुलाकी राजमार्ग अन्तर्गत बाँकेमा ३ सडक बन्दै

बिहीबार, फागुन २५, २०७९

नेपालगन्ज–हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा ३ वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगन्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ । 

नेपालगञ्ज–गुलरिया सडकखण्डमा बाँके खण्ड ११ दशमलव ६ किलोमिटर छ । बाँकेमा चालु आर्थिक वर्षमा हुलाकी लोकमार्गका ३ योजना अन्तर्गत ४१ किलोमिटर सडक निर्माण भइरहेको छ । 

राप्तीपुल पूर्व नारायणपुरदेखि कुण्डासम्म २१ किलोमिटर सडक ६८ करोड ७ लाख रुपैयाँको लागतमा अस्फाल्ट कालोपत्र सुरु गरिएको हो । राप्तीसोनारी गाउँपालिकामा पर्ने राजमार्गको २१ किलोमिटर खण्डमा अक्सफाल्ट प्रविधिद्वारा कालोपत्र गर्न सुरु गरिएको हो । 

खड्का कृष्ण कन्स्ट्रक्सनले हुलाकी लोकमार्गको अस्फाल्ट प्रविधिवाट सडक कालोपत्र गर्ने बोलपत्र प्रक्रियाद्वारा सम्झौता गरेको थियो । आव २०७५÷७६ मा सुरु भएको योजना कात्तिक २०८० सालमा सक्ने सम्झौता रहेको छ । 

नेपालगञ्ज–गुलरिया सडकखण्ड २ अर्ब ७८ करोड २९ लाख ४१ हजार ८३६ रुपैयामा निर्माणका लागि यसै वर्ष २८ मङ्सिर मा शर्मा एण्ड कम्पनीसँग सम्झौता भएको थियो । अस्फाल्ट क्रङ्क्रिट सडक निर्माणको काम अगाडि बढिसकेको छ । 

सडकको बाँके खण्डमा ५ दशमलव ४ किलोमिटर ४ लेन र ६ दशमलव ३६ किलोमिटर २ लेन बनाइने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका सूचना अधिकारी इञ्जिनीयर कृष्णप्रसाद पाण्डेले बताए ।

उनका अनुसार बर्दियातर्फ भने ६ दलशमलव २ किलोमिटर ४ लेन र ९ दशमलव ६६ किलोमिटर २ लेन बन्नेछ । त्यस सडक खण्ड चौडा पर्ने र अस्फाल्ट कालोपत्र गर्ने योजनाको काम सुरु भएको हो । यो योजना २६ मङ्सिर २०८२ सम्म सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनीसँग भएको छ ।

इञ्जिनीयर पाण्डेले बसपार्कदेखि राप्तीपुतसम्म सडक चौडा पार्ने योजना कार्यान्वयनमा रहेको भन्दै राप्तीपुलसम्मको नौ किलोमिटर सडक चौडा पार्ने सम्झौता भई निर्माण सुरु भएको छ । यसैवर्ष ६ कात्तिकमा सुरु भएको योजना कात्तिक २०८० मा सक्ने सम्झौता छ । 

 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्