तिलोत्तमा गोल्ड कप ४ चैतदेखि

बुधबार, फागुन २४, २०७९

बुटवल –४ वर्षसम्म रोकिएको तिलोत्तमा गोल्डकप आगामी ४ चैतदेखि सञ्चालन हुने भएको छ ।

२०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी लगायतका कारणले २२औं संस्करण हुन सकेको थिएन । आयोजक रुपन्देही जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी ४ चैतदेखि ११ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मर्स्याङदी, रुपन्देही–११, थ्री स्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूर पश्चिम–११ ले प्रतिस्पर्धा गर्ने रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ  र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष पुनले बताए ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ वा १ थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै ५ वटा विधामा उत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।

प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ३५ लाख रुपैयाँ सहोयग गरेको छ ।

२१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो । उसले नगद ८ लाख ८० हजार र उपविजेता नेपाल पुलिसले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि सुरू भएको प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।


 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्