महिला दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले भने– नेपालले विश्वमै अग्रणी संविधान पाएको छ

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको बताएका छन् ।

एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज एक विज्ञप्तिमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

‘नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको छ,’उनले भनेका छन्, ‘लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलन लगायतका गौरवपूर्ण संघर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा नै हामीले संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौँ । यो गौरवपूर्ण संघर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीहरूका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको दाबी गरेका छन् ।

नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको उनले बताएका छन् ।

‘हाम्रो संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन, संघीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गरेको छ,’ उनले थपेका छन्, ‘साथै सम्पत्ति, कानुनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको छ । लैगिंक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य हामीले स्मरण गर्नै पर्दछ ।’

हेरौँ शुभकामना सन्देशको पूर्णपाठ :

No description available.

 

 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्