शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउनु गम्भीर विषय : डा. भट्टराई

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन् । 

११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय बृहत् शान्ति सम्झौताको मर्मविपरीतका कार्यहरू भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताए । 

उनले आफूहरू अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अंग भएकाले द्वन्द्वकालीन मुद्दालाई आयोगमार्फत समाधान गर्नुपर्ने जिकिर गरे ।

द्वन्द्वकालीन मुद्दाहरूलाई निरुपण गर्न विभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरवादीहरूले शान्ति प्रक्रियाका कामलाई पूर्णता दिन नदिएको उनले आरोप लगाए । 

भट्टराईले अहिले संविधानमा रहेका महिलालगायत जनताका अधिकारहरूलाई उल्टाउन गम्भीर षड्यन्त्र भइरहेको बताए ।

उनले बलिदानीपूर्वक बनाएको नयाँ संविधानमा रहेका अधिकारहरूमा केही त्रुटि रहेकाले आगामी दिनमा सबैलाई समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्