माओवादी धारका नेताहरूको बैठक

शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको प्रतिवाद गर्ने सहमति

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पृष्ठभूमिका दलहरूको बैठक सकिएको छ । 

संक्रमणकालीन न्यायको विषयमा पछिल्ला दिनमा भइरहेको चर्चाको सन्दर्भमा छलफल गर्न माओवादी पृष्ठभूमिका दलहरूको बैठक मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

बैठकपछि माओवादी पृष्ठभूमिका दलहरूले संयुक्त विज्ञप्ति जारी गरेर विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने बताएका छन् । 

त्यसैगरी, संक्रमणकालीन न्यायसँग सम्बन्धित  सबै विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्नेमा बैठकमा सहभागी सबै दल एकमत रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न पनि प्रतिबद्ध रहेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी पृष्ठभूमिका नेताहरू डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरुङ, खड्गबहादुर विक प्रकाण्ड सी, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायतको सहभागिता थियो ।

गत शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ वर्षअघि दिएको अभिव्यक्तिका आधारमा मुद्दा दर्ता गर्न आदेश दिएपछि माओवादी पृष्ठभूमिका नेताहरू झस्किएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्