होलीको अवसरमा कोहलपुरमा गोलभेँडा उत्सव

मंगलबार, फागुन २३, २०७९

नेपालगन्ज– फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै खेलिने भएको छ ।   

कोहलपुरलाई पर्यटनसँग जोड्न  उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गरे । उनले यसबाट  ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गरे । 

स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात पर्व मानिन्छ ।  सो पर्व नेपालमा मनाइने होली जस्तै  हो । सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ । आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ । ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ । कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको व्यवसायी श्रेष्ठले बताए । 

होटल एशोसियसन अफ नेपाल बाँकेको सहआयोजना हुने ‘गोलभेँडा उत्सव नेपाल–२०२३’ लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन् । कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले गोलभेँडा उत्सवलाई पर्यटनसँग जोडेर लैजान खोजिएकाले होलीको व्यापकताले नयाँ सन्देश दिने छ भने । 

पर्यटकीय दृष्टिकोणले गोलभेँडालाई लिएर विश्वका केही देश स्पेन, इटाली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेँडा पर्व मनाइने बताइएको छ । अत्यन्त स्वास्थ्यवद्र्धक, भिटामिन र मसलायुक्त तरकारीजन्य गोलभेँडाको प्रयोगले छालालाई राम्रो बनाउने विश्वास छ । 

बाँके पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्षसमेत रहेका श्रेष्ठले  सद्भाव र रङको पर्व होली जस्तै देखिने ‘गोलभेँडा उत्सव’लाई प्रवद्र्धन गर्न आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०९:५५
प्रतिक्रिया दिनुहोस्