नारी दिवसमा व्यासगुफादेखि तनहुँसुरसम्म महिला दौड

सोमबार, फागुन २२, २०७९

दमौली– अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा व्यास नगरपालिकाको आयोजनामा महिला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । 

खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्म फागुन २४ गते महिला हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिता सञ्चालनका लागि उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको उनले बताइन् । गत वर्ष आयोजित महिला म्याराथनमा ४४ धावक सहभागी थिए । 

महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन महिला हाफ प्रतियोगिता आयोजना गरिएको उपप्रमुख दरैले बताइन् । प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ७९ रुपैयाँ, द्वितीय हुनेलाई ३१ हजार ७९ रुपैयाँ, तृतीय हुनेलाई २१ हजार ७९ रुपैयाँ र सान्त्वना हुने तीन जनालाई जनही ११ हजार ७९ रुपैयाँ का दरले पुरस्कार वितरण गरिनेछ । 
    
प्रतियोगितामा सहभागी हुन चाहनेले फागुन २३ गते दिउँसो १ बजेसम्म नाम दर्ता गराउनुपर्ने नगरपालिकाका शिक्षा शाखा अधिकृत नवीन पराजुलीले जानकारी दिउ । नाम दर्ता गरेका धावकलाई सोही दिन दिउँसो २ बजे अभिमुखीकरण गराइनेछ । 

व्यास गुफादेखि अनशन चौतारी, दुर्गा मन्दिर, भोर्लेटार चोक, गणेशमान चोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, बाराहीरानी मार्गको रानी गाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यार चोक, चण्डिथान, गद्दीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरबारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमीको रहनेछ । 

‘धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलका रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौँ’, उपप्रमुख दरैले भीनन् । 

खेलकुदलाई पर्यटनसँग जोड्दै

नगरपालिकाले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढेको छ । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित नगरपालिकाले प्रत्येक वर्ष व्यास नगर अल्ट्रा म्याराथन र महिला हाफ म्याराथन गरिरहेको छ । 

नगरपालिकाले म्याराथनलाई पर्यटन प्रवर्द्धनसँग जोड्न खोजेको नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउँछन् । मगर र गुरुङ गाउँलाई खेलकुदबाट जोडेर शहीद दिवसका अवसरमा मानुङदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन सम्पन्न भइसकेको छ । ‘व्यासको जन्मभूमि दमौली र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलबाट जोड्न महिला म्याराथनले सहयोग पुग्ने विश्वास लिएका छौँ’, न्यौपानेले भने । 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार