सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन पार्टीका प्रदेश सांसदलाई प्रचण्डको निर्देशन

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन पार्टीका प्रदेशसभाका आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

सुदूरपश्चिम माओवादी संसदीय दललाई आइतबार पत्र पठाउँदै अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएका हुन् ।

केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि प्रधानमन्त्री प्रचण्डले प्रदेश संसादहरूलाई निर्देशन दिएका हुन् ।

‘केन्द्रमा एउटा समीकरण बन्ने तर प्रदेशमा त्यसअनुसार काम नहुने भन्ने हुँदैन । सत्ता साझेदारी लगायतका विषयमा पछि कुरा गर्दै अहिले विश्वासको मत दिनुस्’, प्रदेश सांसदलाई अध्यक्ष प्रचण्डले लेखेको पत्रमा भनिएको छ ।

मुख्यमन्त्री शाहले आजै प्रदेश सभामा विश्वासको मत लिँदै छन्। माओवादीले मत दिएमा शाहले विश्वासको मत पाउने छन् । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७,  नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपाका १ सांसद छन् । प्रदेश सभामा एमालेका १० सांसद छन् ।

बहुमतका लागि २७ सांसदले विश्वासको मत दिनुपर्छ । माओवादीले मत दिने भएसँगै मुख्यमन्त्री शाहले विश्वासको मत पाउने पक्का छ ।

सुदूरपश्चिमका माओवादी संसदीय दलका नेता खगराज भट्टले केन्द्रबाट विश्वासको मत दिन निर्देशन आएको र प्रदेशको संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्ने बताए । 

नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि माघ २६ गते उनको सरकार ढलेको थियो । सोही दिन प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्