सर्वोच्चको आदेश– प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्नू

शनिबार, फागुन २०, २०७९

काठमाडौँ– सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई शुक्रबार साँझ आदेश दिएको हो ।

यसअघि अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

२०७६ माघ १ मा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले विवादस्पद अभिव्यक्ति दिएका थिए । माघीको अवसरमा आयोजित उक्त कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । ५ हजार मानिस आफ्नोतर्फबाट मारिएको उनको आशय थियो ।

यसलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले प्रचण्डमाथिसर्वोच्चमा रिट दिएका थिए । प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने उनीहरूले आदेश मागेका थिए ।

१० वर्षसम्म चलेको माओवादी द्वन्द्वमा १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक छ । उक्त ‘जनयुद्ध’को सर्वोच्च कमाण्डर प्रचण्ड थिए ।

 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्