राष्ट्रपति निर्वाचन : ३ पार्टीसँग एमालेले माग्यो मत

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ –नेकपा (एमाले) ले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा शुक्रबार थप तीन राजनीतिक दलसँग मत मागेको छ । एमालेले शुक्रबार लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग मत मागेको हो । 

ती पार्टीका कार्यालयमा गई एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका सुवासचन्द्र नेम्वाङलाई मत मागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरसहितको टोली मत माग्नका लागि गएका थिए । 

लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके रावतलाई भेटी उनीहरूले मत मागेका हुन् ।

बिहीबार पनि एमालेले राष्ट्रपतिका उम्मेदवार नेम्बाङलाई मत माग्नका लागि नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मत मागेको थियो । यही फागुन १७ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई भेट गरी राष्ट्रपतिमा नेम्वाङलाई मत मागेका थिए ।

यसअघि एमालेले नेपाली कांग्रेस बाहेक अन्य दलसँग आफ्नो पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङलाई मत माग्दै पत्राचार गरेको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २१:५९
प्रतिक्रिया दिनुहोस्