मिडिया चर्चित नेता र चर्चाको पछि दौडिए : सभामुख घिमिरे

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– सभामुख देवराज घिमिरेले महिलाको सहभागिता र सक्रियताअनुसारको प्रचार हुन नसकेको बताएका छन् । 

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘मिडियामा महिलाका विचार’ कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले संसद् र अन्य संघसंस्थामा पनि महिलाको सक्रियता र सहभागिता बढिरहेको भए पनि सञ्चारमाध्यमले सोअनुसार प्रचारप्रसार नगरेको आरोप लगाए । आफू सभामुख भइसकेपछिका संसद् बैठकमा पनि महिला सांसदले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको उनको भनाइ थियो । 

सभामुख घिमिरेले सञ्चारमाध्यमले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको बताउँदै संसद्मा पनि उल्लेख्य महिला सहभागिता र सञ्चारमाध्यमको उपस्थिति नरहेको जनाए । 

सभामुख घिमिरेले संसद्मा महिलाका लागि अस्थायी प्रकृतिका केही संरचना जरुरी रहेको र त्यो निर्माण गर्ने गरी संसद् सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेन्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बर्ता । 

सञ्चारमाध्यमले संसद्का विषयवस्तुलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको गुनासो गरे । 

सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले नेता र शीर्षकमा केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने बताए ।

विगतमा रोकिएको मिडियासम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताउँदै उनले संसद् सुसञ्चालन गर्ने कुरामा आफू स्पष्ट रहेको जनाए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार