राष्ट्रपति निर्वाचन :

आज बागमतीस्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै ८ दलीय गठबन्धन

शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ– आगामी राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।  

यही फागुन २५ गते हुने निर्वाचनमा पूर्वसभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
यसबाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ । 
यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

राष्ट्रपति पदका लागि नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्